सिन्धुली। सरकारको शिक्षक तथा सरकारी कर्मचारीलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्ने नीतिबीच सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यरत दुई शिक्षक नेकपाको स्थानीय बैठकमा सहभागी भएको घटना सार्वजनिक भएको छ।
बिज्ञापन
सुनकोशी गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक मिलन दाहाल र मनिराम आचार्य नेकपा गाउँपालिका कमिटीको बैठकमा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि विषय चर्चामा आएको हो। तस्वीरमा उनीहरू पार्टीको अभिवादन शैली ‘लालसलाम’ गर्दै देखिएका छन्।
बिज्ञापन
सरकारले हालै लागू गरेको व्यवस्थाअनुसार शिक्षक तथा सरकारी कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य बन्न वा दलगत गतिविधिमा संलग्न हुन पाउँदैनन्। राजनीतिक कार्यक्रममा सहभागी भएको पुष्टि भए अनुशासनात्मक कारबाहीदेखि बर्खास्तसम्मको व्यवस्था रहेको छ।
यद्यपि कानुनी प्रावधानका बाबजुद शिक्षक तथा कर्मचारीको राजनीतिक संलग्नता पूर्ण रूपमा रोक्न नसकिएको देखिएको छ। सुनकोशीको पछिल्लो घटनाले शिक्षा क्षेत्रको राजनीतिक तटस्थता र सरकारी नीतिको कार्यान्वयनमाथि पुनः प्रश्न उठाएको छ।
बिज्ञापन
शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बहस चलिरहेका बेला सामुदायिक विद्यालयका शिक्षकहरू दलगत कार्यक्रममा देखिनुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। सरोकारवालाहरूले सरकारी निर्देशिकाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्