काठमाडौं। जिल्ला प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका नागढुङ्गा चेकपोस्टबाट ठूलो परिमाणमा अवैध काठको कोइला बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
मंगलबार बेलुकी चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरीले रोकेको थियो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले ट्रकमा विस्तृत जाँच गर्दा आवश्यक अनुमति बिना ओसारपसार गरिएको ६ टन ९५० केजी काठको कोइला फेला पारेको हो।
बिज्ञापन
प्रहरीका अनुसार बरामद गरिएको कोइलाको अनुमानित बजार मूल्य ५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा दाङको घोराही उपमहानगरपालिका–७ निवासी ३६ वर्षीय शिवराज चौधरी र कपिलवस्तुको विजय गाउँपालिका–३ निवासी २६ वर्षीय कमल किशोर केवट लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बरामद गरिएको अवैध कोइला, प्रयोग गरिएको ट्रक तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको छ।
प्रहरीले वनजन्य वस्तुको अवैध ओसारपसार नियन्त्रणका लागि सीमा नाका तथा मुख्य प्रवेश मार्गहरूमा निगरानी र जाँचलाई थप कडाइका साथ अघि बढाइएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्