रास्वपाले मधेशमा, तीनदिने केन्द्रीय बैठकदेखि सभा-भेला गर्ने।

२०८० मंसिर ११, सोमबार ००:३२

काठमाडौं ।

बिज्ञापन

मंसिर,१० संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तरक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्ने भएको छ ।

बिज्ञापन

केन्द्रदेखि प्रदेशका उच्च तहका नेताहरु मधेश पुर्‍याएर भावी विकल्प आफू हुने सन्देश प्रवाह गर्न रास्वपाले खोजेको हो । आठ जिल्लामा ३२ संघीय निर्वाचन क्षेत्र रहेको मधेशमा पार्टी शक्ति परिचालित हुनुले भावी चुनावलाई समेत मध्यनजरमा राखेको देखिन्छ ।

रास्वपा गठन भएदेखि हालसम्म लगातार तीन दिन बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक राखिएको यो पहिलो पटक हो । ११ मंसिर देखि १३ गतेसम्म महोत्तरी, जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरिएको हो ।

बिज्ञापन

बैठकमा प्रदेश सभापति, इञ्चार्ज र महामन्त्रीलाई पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ । संस्थागत उपस्थिति बढाउनका लागि उच्च महत्वमा मधेशमा राखेर पार्टी संयन्त्र परिचालित भएको छ । मधेशमा पार्टी संयन्त्र लागेर रास्वपाले रणनीतिक मूभ’ सुरु गरेको देखिन्छ ।

मधेशका जिल्लामा तिन दिनको सभा, अन्तरक्रिया र भेटघाट गर्नु र केन्द्रीय समिति र संसदीय दलको बैठक आव्हान सोही स्थानमा गर्नुले रास्वपाले मधेशलाई प्राथमिकतामा राखेको देखिन्छ ।

महामन्त्री मुकुल ढकाल मधेशलाई पार्टीले प्राथमिकतामा राखेर कार्यक्रमहरु निर्धारण गरेको बताउँछन् । तुलनात्मक रुपमा रास्वपाको संगठन मधेशमा कमजोर छ । ‘संगठनात्मक रुपमा पनि मधेशमा हामीले सुधार गर्नुपर्नेछ’ महामन्त्री ढकाल भन्छन्,‘पार्टी जीवनको महत्वपूर्ण बैठक भएकाले मधेशबाटै सन्देश प्रवाह गर्ने लक्ष्य छ ।’

सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु खटिएर मधेशका आठ जिल्लामा सभा, अन्तरक्रिया तथा भेटघाट गरिरहेका छन् । मधेशमा हुने कार्यक्रममा सभापति लामिछाने, उपसभापति डीपी अर्याल, सांसदहरु मनिष झा, सोविता गौतम लगायत सहभागी भएका थिए । रौतहटको सन्तपुर र गौरमा शनिबार जनसभा राखिएको हो ।

शुक्रबार बाराको सिम्रौनगढ र निजगढ सभामा सहभागी भएका सभापति लामिछानेले सोही दिन वीरगञ्जमा अन्तरक्रिया गरे । आइतबारको लागि सप्तरीको छिन्नमस्ता र फत्तेपुरमा जनसभा गरेको छ । आइतबार बिहान सिरहाको गोलबजारमा पनि कार्यक्रम गरिएको छ ।

पार्टीको संगठन नभएका स्थानका सभामा पनि स्थानीयको उल्लेख्य उपस्थिति रहेको रास्वपा सांसद झाले जानकारी दिए । पार्टी र जनता दुवै तयार भएर नै मधेशका कार्यक्रम सफल भएको रास्वपाको दाबी छ ।

‘पार्टी तयार भई नेता उभिएर मात्रै कार्यक्रमहरु सफल हुन सक्दैन’ सांसद झाले भने, ‘हाम्रो लागि मधेश जनता पनि तयारी थिए । स्विकार्यता हामीले अपेक्षा गरेको भन्दा धेरै राम्रो पाइरहेका छौं ।’

गौर र गोलबजारमा नगर समिति गठन नभएपनि नागरिकको उपस्थिति उत्साहजनक रहेको झाले बताए । पूर्व पश्चिम र हुलाकी राजमार्गमा सभा र भेटघाटमा केन्द्रित रहेको रास्वपा एक महिना पछि हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिने भएको छ ।

गत उप चुनावमा बारामा मधेश मूलका व्यक्ति उम्मेदवार नहुँदा मत परिणाम अस्वभाविक कमि आएको चर्चा पार्टीभित्र पनि हुँदै आएको छ । मधेश समुदायबाट केन्द्रीय नेतृत्वमा उपस्थिति कमि रहेकाले रास्वपाको संगठन मधेशमा कमजोर रहेको विश्लेषण हुँदै आएको छ

पार्टी ‘समावेशिताका कुरामा भएको कमजोरी हटाउन पनि मधेश यात्राले सहयोग गर्छ’, महामन्त्री ढकाल भन्छन् । देशको सबैभन्दा ठूलो पार्टी बनाउने लक्ष्यलाई पुरा गर्न मधेशलाई प्राथमिकता दिइएको महामन्त्री ढकाल बताउँछन् । सदस्यता प्राप्त गर्ने प्रक्रियाको ज्ञानमा कमि हुँदा संगठित कार्यकर्ता मधेसमा अन्यत्र सरह हुन नसकेको महामन्त्री ढकालले बताए ।

अरुतिर धेरै राम्रो भएको अवस्थामा मधेशमा ठिकठाक हो’, महामन्त्री ढकाल भन्छन् । संस्थागत उपस्थित कमि रहेकाले पनि संगठन कमजोर रहेको रास्वपाको बुझाई छ ।

मधेशमा पार्टीलाई बलियो बनाउन नेताहरु भित्र्याउन पनि रास्वपाले सुरु गरेको छ । धनुषाका डा. नन्दन यादवलाई पार्टीमा प्रवेश गराइएको छ । रास्वपा स्रोतका अनुसार यादवलाई केन्द्रीय समितिमा मनोनित गर्ने तयारी छ ।

सभापति लामिछानेले यादवलाई मनोनित गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । यादव लोहियावादी पार्टीबाट रास्वपामा प्रवेश गरेका हुन् । थप केन्द्रीय सदस्यमा मनोनित प्रस्तावलाई बैठकमा प्रवेश गर्ने/नगर्ने विषय विचाराधिन रहेको महामन्त्री ढकाल बताउँछन् । मधेशको राजनीतिमा उनलाई सक्रिय बनाउने रणनीति रास्वपाले बनाएको छ ।

बैठकमा महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुने भएको छ । बैठकमा छलफलका थप एजेण्डामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन लगायत छन् ।

‘सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत हुन्छ । पार्टीको नीतिगत वैचारिक स्पष्टता निर्णय गर्छौं’, महामन्त्री ढकालले भने । पार्टीले अंगीकार गर्ने नीतिका विषयमा विवाद बढेपछि थप बहसका लागि थाती राखिएको थियो ।

दस्तावेज निर्माणका लागि १७ जनाले तयार गरेको मस्यौदा, १९ फरक फरक जिल्लाबाट नागरिकका सुझाव, नीतिमाथिको बहसबाट आएका विषयहरु समेटेर दस्तावेज निर्माण गर्न लागिएको छ ।

महामन्त्री ढकालका अनुसार आधारभूत विषयवस्तुलाई बैठकले पारित गर्नेछ । ‘नीति दस्तावेजको पूर्ण रुप होइन, त्यसको सार पारित हुन्छ’, महामन्त्री ढकाल भन्छन् । बैठकले राष्ट्रिय मुद्दामा पार्टीको स्पष्ट अडान बाहिर ल्याउने सांसद झाले बताए ।

‘व्यवस्थामा समस्या छैन भनेर हामीले भन्दै आएका हौं । राजनीतिक अभ्यास गर्नेहरुमा समस्या हो । बैठकमा संविधान बाधक नरहेको विषयमा पनि छलफल हुन्छ’, झाले भने ।

रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भन्दै आएपनि उक्त समयमा केन्द्रीय महाधिवेशन हुन सकेन । वडा तहको अधिवेशन भने सुरु भएको छ । मधेशमा हुने बैठकले महाधिवेशन मिति तय नगर्ने नेताहरु बताउँछन् । महाधिवेशनका आवश्यक थप विधि र प्रक्रियाहरु पारित गरिने रास्वपाले जनाएको छ ।

सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ११ मंसिरमा केन्द्रीय र संसदीय दलको संयुक्त बैठक बस्नेछ । १२ गतेको संयुक्त बैठकले सभापतिको प्रतिवेदन पारित गरेपछि पुन छुट्टाछुट्टै बैठक बस्ने महामन्त्री ढकालले जानकारी दिए

बैठकमा प्रदेशका इञ्चार्ज र महामन्त्री पनि सहभागी हुने भएका छन् । केन्द्रीय सदस्य, सांसद, प्रदेशका सभापति, इञ्चार्ज र महामन्त्री गरेर एक सय आसपासको उपस्थित हुने रास्वपाले जनाएको थिए ।

जलेश्वर पार्टी प्यालेसमा हुने बैठकमा लाग्ने पुग्नेहरुले खाना र बस्नको खर्च स्वयंले बेहोर्नुपर्ने भएको छ ।

२०८० मंसिर ११, सोमबार ००:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना