रामवरणले चुरेमा काम गर्नुभयो, तपाईं उच्च शिक्षामा काम गर्नुहोस् भने

२०८० पुष २३, सोमबार १२:०८

काठमाडौं ।
२३ पुस,। नागरिक समाजका अगुवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर वेथिति र अव्यवस्थाको अन्त्यका लागि ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएको छ ।

बिज्ञापन

सोमबार अपराह्न शीतल निवास पुगेका अगुवा डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक केदारभक्त माथेमा, पीताम्बर शर्मा, दमननाथ ढुंगाना, होमनाथ दाहालले यस्तो सल्लाह दिएका थिए ।

बिज्ञापन

संविधानले राष्ट्रपतिलाई विशेष अधिकार नदिए पनि नागरिकको उच्च सम्मानप्राप्त संस्थाको नेतृत्व भएकाले नैतिक शक्ति देखाउन चुक्न नहुने भन्दै अगुवाहरुले पछिल्लो अवस्थाबारे ध्यानाकर्षण गराएका छन् ।

प्रथम राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रको संरक्षणका लागि लिएको पहलबाट राष्ट्र लाभान्वित भएको भन्दै अगुवाहरुले वर्तमान राष्ट्रपतिलाई उच्च शिक्षा केन्द्रित भएर काम गर्ने अवसर रहेको औंल्याए ।

बिज्ञापन

विश्वविद्यालयमा बेथिति र अराजकता बढेको हुनाले त्यसलाई सुधार्न राष्ट्रपतिका मार्गदर्शनहरु महत्वपूर्ण बन्ने उनीहरुको भनाई थियो । ‘डा. यादवले राष्ट्रपति छँदा चुरे संरक्षणमा गर्नुभएको पहलले देशलाई सकारात्मक प्रभाव पार्‍यो,’ प्राध्यापक माथेमाले राष्ट्रपतिलाई भने, ‘तपाईंलाई पनि यो उच्च शिक्षामा भएको बेथिति र अराजकता रोक्न सरकारलाई मार्गदर्शन गराउने, सरोकारवालाहरुलाई सचेत गराउने नैतिक दायित्व छ ।’
डा. पाण्डेले राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त विकृतिहरुबारे ध्यानाकर्षण गराउँदै राजनीतिक दलहरुमा शुद्धिकरणको अभावबारे बोलेका थिए । अगुवाहरुले भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति, सेवा प्रभावलाई चुस्त र प्रभावकारी लगायतमा रहेर राष्ट्रपतिलाई सुझाव दिएको भेटमा सहभागीले जानकारी दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक समाजका अगुवाहरुले लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको वेथिती अन्त्य गर्ने विषयमा सुझाव दिएको जानकारी दिए ।

लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवालाई राष्ट्रपति पौडेलले सोमवार शीतल निवासमा डाकेका थिए । सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेहरूलाई बल नपुगोस भन्ने तर्फ सचेत रहनुपर्ने सुझाव नागरिक समाजका अगुवाहरुले दिएका थिए ।

लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको भेटमा सहभागी एक नागरिक समाजका अगुवाले जानकारी दिए ।

२०८० पुष २३, सोमबार १२:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना