संघीय संसदको बर्खे अधिवेशन सुरू भएको छ। बजेट अधिवेशनका रूपमा समेत चिनिने बर्खे अधिवेशन शुक्रबारदेखि सुरू भएको हो। तर अधिवेशनको पहिलो बैठकमै सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको तिक्तता प्रष्टै देखियो।
बिज्ञापन
दिउँसो २ बजेका लागि डाकिएको बैठक करिब १ घण्टा ढिलो गरी ३ बजेतिर मात्रै सुरू भएको थियो। तर बैठक सुरू हुनुअघि सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग गरेको अलग-अलग परामर्श सहमतिमा पुग्न नसकेपछि सभामुख घिमिरेले बैठकको काम कारबाही अघि बढ्छ भनेर घोषणा गर्ने बित्तिकै कांग्रेसका सांसदहरू आआफ्नो आसनबाट उठेर विरोध जनाएका थिए।
बिज्ञापन
उनीहरूले विरोध गरिरहँदा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट केही अत्यावश्यक पत्रहरू प्राप्त भएको र ती पत्र पढ्नै पर्ने भएकाले आ-आफ्नो सिटमा बसिदिन आग्रह गरेका थिए।
कांग्रेसका सांसदहरू नमानेपछि सभामुख घिमिरेले आफ्ना कुरा राख्नका लागि कांग्रेस सांसद गगन थापालाई ३ मिनेट समय दिए। सभामुखले दिएको समयमा उनीहरूले चित्त नबुझाएपछि सभामुख घिमिरेले ‘प्रतिनिधि सभाको बैठक निर्धारण गर्ने र कसलाई कति समय दिने भनेर तय गर्ने तपाईंहरूले हो कि मैले?’ भन्दै कड्किएका थिए।
बिज्ञापन
त्यसपछि सांसद थापाले कांग्रेसका तर्फबाट आफ्ना धारणा राख्न थाले। उनले संसदमा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने कुरा अनुमान लगाउन सकिने बताए।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका कांग्रेस महामन्त्री समेत रहेका थापाले भने, ‘हामी प्रश्न सोध्न र उत्तर खोज्न यहाँ आएका हौं। तर यो सदनमा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने कुराको म अनुमान लगाउन सक्छु।’
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएको छ।
‘आज सदनमा जुन दृश्य बन्न जाँदैछ यसको कारण हामी होइनौं,’ उनले भने, ‘जे गर्ने सोच राखिएको छ, त्यसको सबैले धेरै मूल्य चुकाउनुपर्छ। यसलाई हल्का नठानियोस्।’
कांग्रेस सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर भएको उनको भनाइ थियो।
‘सहकारीको ठगीका सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्। यसमा एमाले, माओवादी, रास्वपा र कांग्रेस बस्ने होला,’ उनले भने, ‘ढिकीजाँतो तपाईंहरूकै हातमा छ, तथ्य हामीले बनाउने हैन होला।’
उनले संसदीय समिति बनाउनबाट किन भागेको हो? भन्ने पनि प्रश्न पनि गरेका थिए।
‘कहिले प्रहरीलाई, कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ,’ उनले भने, ‘महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसार परिसक्नुभयो। यदि गल्ती गरेको छैन भने किन डराएको?’
थापाले आफ्ना धारणा सकिसकेपछि पनि कांग्रेसले बैठकमा अवरोध भने यथावत् नै राख्यो। त्यसपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेका थिए, कांग्रेस सांसदहरू रोष्ट्रम घेराउ र नाराबाजीमा उत्रिए थिए ।
प्रतिक्रिया दिनुहोस्