काठमाडौँ,
बिज्ञापन
कार्तिक,यस वर्षको दसैंको अवसरमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट बाहिरिएका छन् । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जानकारी गराएको छ।
बिज्ञापन
दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणबाट पनि देख्न सकिन्छ । यसअनुसार घटस्थापनाको अघिल्लो दिन (असोज २६) चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यही कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
उल्लिखित तथ्यांकले पनि गएको आठ दिन (असोज २६ देखि कात्तिक ३ सम्म) मा ५५ अर्ब रुपैयाँ नोट बाहिरिएको देखिन्छ । यद्यपि बैंकहरूको सबै विवरण आउन बाँकी रहेकाले दसैंको अवसरमा करिब ६० अर्ब रुपैयाँ बराबर रकम ढुकुटीबाट बाहिरिएको हुन सक्ने राष्ट्र बैंक स्रोतले बताएको छ । उल्लिखित तथ्यांकमा सिक्काको हिसाब हुँदैन । दसैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । यसकारण दसैंमा बाहिरिएको रकमको पूर्ण विवरण आइनसकेको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए ।
बिज्ञापन
उल्लिखित रकममध्ये केही दसैंमा सटहीमार्फत र बाँकी भुक्तानी (पेमेन्ट) का लागि बैंक तथा वित्तीय संस्थालाई भुक्तानी दिइएको राष्ट्र बैंकको भनाइ छ । नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति बढ्दैन । तर पेमेन्टले बढाउँछ । दसैंमा पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट पैसा झिक्छन् ।
दसैं, तिहार र छठका अवसरमा राष्ट्र बैंकको ढुकुटीबाट झिकिने पैसा नयाँ वा सुकिला मात्र हुन्छन् । यसैलाई राष्ट्र बैंकले भुक्तानी भन्छ । नोट सटही गर्दा सर्वसाधारण वा संस्थाबाट पुराना नोट लिएर नयाँ नोट दिइन्छ । यसरी नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति नबढे पनि विभिन्न संघसंस्थालाई भुक्तानी दिँदा ती संस्थाहरूको खातामा रहेको रकम बाहिर जान्छ । यस्तो भुक्तानीले बजारमा मुद्रा आपूर्ति बढाउँछ ।
यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले गत असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा सुरु गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको थियो । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो ।
यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गरेको थियो । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि भने राष्ट्र बैंकले निकै संयमित भएको (उनीहरूको मागभन्दा कम) मात्र नयाँ नोट वितरण गरेको थियो । हरेक वर्ष बढ्दै गएको नयाँ नोटको मागलाई कम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस वर्ष जानीजानी थोरै नयाँ नोट वितरण गरेको स्रोतको दाबी छ ।
दसैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन ।
प्रतिक्रिया दिनुहोस्