दुम्की बास सडक खण्ड रातिको समयमा बन्द हुने

२०८२ बैशाख २, मंगलवार ००:३६

काठमाडौं : नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सोमबारदेखि रातिको समयमा बन्द गरिने भएको छ । दाउन्नेको पहाड क्षेत्रमा सडक विस्तारको काम छिटो सक्न सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।

बिज्ञापन

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएर काम गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार वैशाख १५ गतेसम्म सो सडक खण्ड रातिको समयमा बन्द हुनेछ । चैत्र २७ गतेदेखि दिउँसोमा सडक बन्द गरेपनि सोचेअनुसार काम गर्न नसकेपछि रातिमा सडक आवागमन बन्द गर्न लागिएको खनालले बताए । आयोजनाले एक हप्ताअघि चैत्र २७ गतेदेखि ३१ गतेसम्म दिउँसोमा बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी आवागमन बन्द गर्दै आएको थियो ।

बिज्ञापन

दाउन्नेको पहाडी क्षेत्रमा कटिङका काम बाँकी छ । साँघुरो क्षेत्रमा सवारी नरोकि काम गर्न सकिँदैन, उनले भने भित्ता कटिङको काम १५ दिनमा सक्नेगरी रातीमा सडक बन्द गर्दैै छौँ,’– खनालले भने । दाउन्ने क्षेत्रको पहाड १३ किलोमिटर रहेको छ । यहाँ तीन लेनको सडक निर्माण हुँदैछ । जसका कारण काम गर्न कठिन भएको इन्जिनियर खनालले बताए । ‘दाउन्ने क्षेत्रमा मात्रै ७० वटा कल्बट छ । चार लेनको सडक भए दुईलेनमा काम गर्दै अर्को दुई लेन खन्दै जान हुन्थ्यो,’ उनले भने ‘तीन लेनमा त्यसरी खन्न पनि नमिल्ने ।’

यो १५ दिनको अवधिमा पश्चिम नवलपरासीको बर्दघाट देखी पूर्वी नवलपरासीको दुम्किबास सम्मको पहाडी खण्डको सडक मर्मत सम्भार गरिने छ । त्यसपछि पहाड काट्ने काम सुरु हुनेछ । पानीका कारण दाउन्ने क्षेत्र हिलाम्मे छ ।

बिज्ञापन

दाउन्ने खण्ड बन्द भएको समयमा पूर्वबाट आएका मालवाहक सवारी साधन चोरमारा अरुण खोला खण्डमा रोकिने छन् भने यात्रुवाहक सवारी साधनलाई दुम्कीबास बजार क्षेत्रमा रोकिने छ । पश्चिमबाट जाने सवारी साधनको हकमा भने मालवाहक सवारी साधनलाई ज्यामिरे र हकुईमा रोकिने छ भने यात्रुवाहक सवारी साधनलाई बर्दघाट चिसापानी खण्डमा रोकिने उनले बताए ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो । ११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको काम चाँडै सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग–अलग ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।

पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

सरकारले यो सडकखण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ तर काम भने अहिलेसम्म ६३ प्रतिशत भौतिक प्रगती भएको आयोजनाले जानकारी दिएको छ ।

२०८२ बैशाख २, मंगलवार ००:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना