मेवालाल यादव
बिज्ञापन
रौतहट : रौतहट जिल्लाको परोहा नगरपालिकाले कृषकहरूको विद्युत् सिँचाइ मिटरको बक्यौता महसुल बुझाएपछि स्थानिय किसानहरू हर्षित भएका छन्। विद्युत् महसुल तिर्न नसकी सिँचाइमा समस्या भोग्दै आएका किसानहरूलाई नगरपालिकाको यो कदमले ठूलो राहत दिएको छ।
बिज्ञापन
परोहा नगरपालिका–१ जिङ्गडवा बेलबिछ्वाको कृषकका अनुसार, विगत केही महिनादेखि सिँचाइका लागि प्रयोग भइरहेको विद्युत् मिटरको महसुल रकम अभावका कारण तिर्न नसकिएको अवस्था थियो। यस्तो समयमा नगरपालिकाले महसुल तिरिदिँदा आफूहरूलाई ठूलो सहजता भएको र यसबाट स्थानीय सरकार किसानप्रति जिम्मेवार भएको अनुभूति भएको उनले बताइएको छ ।
परोहा नगरपालिका–९ रामपुर खापकी जहिदा खातुनले पनि महिनाौंदेखि विद्युत् महसुल नतिरेको कारण नेपाल विद्युत् प्राधिकरणद्वारा लाइन काटिने डर रहेको बताइन्। तर नगरपालिकाले महसुल तिरेपछि आफूसहित अन्य किसानहरूलाई राहत मिलेको उनले उल्लेख गरिन्।
बिज्ञापन
नगरपालिकाले कृषकहरूको विद्युत् महसुल वापत नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज अहमदका अनुसार, नगरपालिकाका ९९४ जना कृषकले निःशुल्क रूपमा सिँचाइ मिटर प्रयोग गर्दै आएका छन्। नगरपालिकाले २०८१ साल मङ्सिर मसान्तसम्मको विद्युत् बक्यौता महसुल बुझाएको जानकारी उनले दिए।
नगर प्रमुख शेख वकिलका अनुसार, परोहा नगरपालिकाको समृद्धि, विकास र विशेषतः कृषि क्षेत्रको प्रवर्द्धनका लागि आफ्नो चुनावी प्रतिबद्धता अनुसार यो निर्णय लिइएको हो। “विद्युत् महसुल मात्र होइन, सिँचाइ मिटर तथा घरायसी मिटर जडानका क्रममा लाग्ने सम्पूर्ण राजस्व पनि नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ,” नगर प्रमुख वकिलले बताए।
उनका अनुसार हुकिंग गरेर विद्युत् चोरी गर्ने प्रवृत्ति नियन्त्रण गर्न र सरकारी राजस्व जोगाउन मिटर जडानमा लाग्ने शुल्क नगरपालिकाबाट तिर्ने व्यवस्था गरिएको हो। यस्तै, कृषि पेशामा लाग्न चाहने नागरिकहरूले नगरपालिकासँग सम्पर्क गरेर निःशुल्क मिटर जडान तथा निःशुल्क विद्युत् सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
नगर प्रमुख वकिलले कृषकहरूको आयआर्जनमा वृद्धि ल्याउन कृषि कार्यको आधुनिकीकरण, आवश्यक उपकरणको उपलब्धता र उत्पादित बालीको बजारीकरणका लागि समेत नगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।
परोहा नगरपालिकाले कृषकमैत्री नीति अवलम्बन गर्दै समग्र कृषि प्रणालीको सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नगर क्षेत्रका कृषकलाई सशक्त बनाउने दीर्घकालीन दृष्टिकोणसहित अगाडि बढिरहेको परोहा नगरपालिकाको यो कदमले कृषकहरूमा उत्साह थपेको छ।
प्रतिक्रिया दिनुहोस्