कार्तिक,जाजरकोटका सीडीओ र प्रहरी प्रमुख बसेको कोठा समेत भूकम्पले भत्काएको छ । सबैभन्दा बढी मानवीय क्षति भएको नलगाडमा रहेको इन्स्पेक्टर नेतृत्वको प्रहरी चौकीमा एउटा गाडी समेत छैनन ।
बिज्ञापन
बिज्ञापन
काठमाडौं
२३ कात्तिक, नलगाड जाजरकोट, इलाका प्रहरी कार्यालय, नलगाडका प्रहरी निरीक्षक माधव चौधरी १७ कात्तिकमा मध्यराति ११ः४३ बजे गहिरो निद्रामा थिए । एक्कासी ढुंगा माथिबाट ड्याङ.. ड्याङ… झर्न थाल्यो ।
झुलभित्र छु, एक्कासी ढुंगा बर्सिन थालेपछि ब्युँझिएँ’, चौधरीले भने, ‘भागेर अगाडि निस्किहालें, त्यसबेलै नउठेको भए अथवा अलि ढिला भएको भए के हुन्थ्यो थाहा छैन ।’
भूकम्पले आसपासमा क्षति गरेको थाहा पाइहाले । नलगाडमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जनाको टोली छ । तीमध्ये पनि केही बिदामा गएकाले सबै थिएनन् । कार्यालयमा बाँकी रहेका प्रहरीलाई चौकी अगाडि सामेल गराए
मोबाइलमा फोन बज्न थालिहाल्यो । ‘ज्यान जोगियो, उठेर निस्किनेबित्तिकै उद्धारमा खट्नु परिहाल्यो’ चौधरीले भने, अरुबेला फोन लाग्दैनथ्यो, त्यो दिन चाहिं फोन बजिरहेको थियो।
नलगाड नगरपालिका–७, चामाखेतमा भूकम्पले घर भत्काउँदा ५ जनाको मृत्यु भएको सूचना सबैभन्दा पहिले आयो ।
पहिलो टोलि त्यहींबाट सुरु गरेका थियौं, उहाँहरुले मृत्यु भयो भन्नुभयो तर, हामीले अस्पतालसम्म ल्यायौं’ उनले भने, ‘तीन जना जीवितै उद्धार भए, बाँकी ५ जनाको मृत्यु भइसकेको अस्पतालले घोषणा गर्यो ।’
त्यतिञ्जेल फोन तारन्तार बजिरहेको थियो । ‘समुदायसँग मिलेर काम गर्ने नीति अन्तर्गत घरघरमा प्रहरीको स्टिकर टाँसेका थियौं’ चौधरी भन्छन्, ‘त्यसैले जनप्रतिनिधि मात्र होइन, पब्लिकबाट पनि फोन आइरह्यो ।’ त्यसले प्रहरीलाई सूचना पाउन सहज भएको उनले बताए ।
तर, दुःख के भयो भने इलाका प्रहरी कार्यालय भए पनि नलगाडमा प्रहरीसँग एउटा गाडीसम्म छैन ।
बिज्ञापन
‘७ वटा मोटरसाइकल थियो, त्यही लिएर ठाउँ–ठाउँमा प्रहरी पठायौं’ चौधरीले भने, ‘यद्यपि, फोन आएजति सबैतिर तत्काल पुग्न सम्भव थिएन ।’
प्रहरी चौकीबाट पैदल हिंड्दा आधा घण्टाको दूरीमा नेपाली सेनाको टोली पनि छन् ।
तर मुचुल्का पनि गर्नुपर्ने भएकाले प्रहरी नपुगी नहुने अवस्था थियो’, नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउत भन्छन्, ‘जसोतसो प्रहरीले व्यवस्थापन गरेर काम गर्यो ।’
प्रहरी चौकीमा गाडी भएको भए कतिपय स्थानमा जानलाई सहज हुन्थ्यो । चौकीले पटकपटक गाडीको व्यवस्थापन गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै आएको थियो ।
प्रहरी अधिकृतहरुले काठमाडौं आउँदा प्रहरी प्रधान कार्यालयमा पनि भनिरहेका थिए । तर, ‘नयाँ गाडी आएको छैन, पुरानो गाडी दिएर काम छैन’ भन्ने जवाफ आएको अधिकृतहरु बताउँछन्
नयाँ गाडी आएपछि पठाउने आश्वासन त इलाका प्रहरी कार्यालय, नलगाडले पाएको थियो । यद्यपि, गाडी नभएकै बेला जिल्लामै सबैभन्दा बढी मानवीय क्षति हुने गरिको विपद् नलगाडले भोग्नुपर्यो ।
शुक्रबार गएको भूकम्पमा नलगाड नगरपालिकामा मात्रै ५४ जनाको मृत्यु भयो । समयमै अस्पताल ल्याउन सकेको भए धेरैलाई बचाउन सकिने नलगाड नगर अस्पतालका चिकित्सक डा. विकास उप्रेतीले बताउँछन् ।
तर, प्रहरीसँग गाउँमा पुग्न गाडी समेत थिएन । भूकम्प गएको झण्डै २१ घण्टासम्म थप मद्दतको टोली समेत आइपुगेको थिएन । शनिबार राति ८ बजेपछि मात्रै थप टोली नलगाडमा पुगेको थियो ।
‘पहिलो दिन जे जति भयौं, शव निकाल्नेदेखि मुचुल्का लगायत सबै आफैं गर्यौं’ प्रहरी निरीक्षक चौधरीले भने, ‘शव ल्याउन सम्भव नभएपछि चिकित्सकहरुलाई समेत वडा नं. १ मा लिएर गएर २३ जनाको पोष्टमार्टम गाउँमै गरायौं ।’
थोरै जनशक्तिमा काम गरिरहँदा सबैतिर समयमा पुग्न नपाएकामा चौधरी आफैं पनि सन्तुष्ट छैनन् । भन्छन्, ‘तर, जति सकिन्छ, शतप्रतिशत दिने प्रयास गर्यौं ।’ अहिले चौधरी नेतृत्वको प्रहरी टोली बस्ने चौकीको घर पनि भत्किएर बस्न नहुने भएको छ ।
आसपासमै दुई परिवारको ६/६ जनाको मृत्यु भएको भेरी नगरपालिका–१, जाजरकोटमा पर्ने अस्थायी प्रहरी पोष्ट, रावतगाउँको पनि अवस्था उही छ । घर भाडामा लिएर बसेको भवन पनि चर्किएको छ ।
त्यसपछि बाहिरै बसिरहेका छौं’ पोष्टमा खटिएका एक प्रहरी जवानले भने, ‘अहिले मुचुल्का लगायतको काममा सहयोग गर्न चाहिं जिल्लाबाट थप एक जना सर पनि आउनुभएको छ ।’
जाजरकोट सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरी चौकीभन्दा फरक छैन । जिल्ला प्रहरी कार्यालय परिसरमा बुधबार दिउँसो पुग्दा प्रहरी जवानहरु पाल टाँगेर बसेका थिए ।
कार्यालयबाट मास्तिर रहेको चौकीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सन्तोष रोका आफैं पनि टेन्टमा बसिरहेका थिए ।
शुक्रबार गएको भूकम्पमा उनको निवासमा पनि ढुंगा झर्यो । त्यसपछि बाहिरै बसेर उद्धार र राहतको कार्यमा खटिएका छन् ।
अन्यत्रको तुलनामा स्रोत, साधन भए पनि जिल्ला प्रहरी कार्यालयमा रहेको ८ मध्ये ७ वटा भवन चर्किएर बस्न नहुने भएको प्रहरी निरीक्षक मिलन विश्वकर्मा बताउँछन् ।
बस्न नमिल्ने भए पनि टेन्टमा बसेका छौं’ उनले भने, ‘भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्नलायक छ ।’
जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो । भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज भट्टराई बताउँछन् ।
पुरानो भवन पूरै चर्किएर बस्नै नमिल्ने भएको छ’ उनले भने, ‘आठबिसकोटमा भाडाको घरमा प्रहरी थियो, अहिले सबै बाहिर बसेका छन् ।’
उनका अनुसार, प्रहरी चौकी, पुर्तिमकाँडा, सोलावाङ र सिम्ली पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । शुक्रबार गएको भूकम्पमा ढुंगा झर्दा उनी सामान्य घाइते समेत भए । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकाल प्रदेशभर ३०८ वटा प्रहरी युनिट रहे पनि २५ प्रतिशत इकाइको मात्रै आफ्नो भवन छ ।
७५ प्रतिशत सबै जोखिममा छन्, भाडामा लिइएका घरमा छन्’ ढकालले भने, ‘भूकम्प प्रभावित क्षेत्रका धेरै प्रहरी कार्यालयहरु त्यही कारण अहिले पालमा बसेर सेवा दिइरहेका छन् ।’
कतिपय स्थानका प्रहरीसँग मोटरसाइकल समेत नभएको स्वीकार्दै उनी भन्छन्, ‘तर, भूकम्प गएलगत्तै समन्वय गरेर सुर्खेतबाट गाडीसहितको थप ७० जनाको टोली पठायौं ।’
मद्दत टोलीलाई बुधबार पनि पठाएर राहत वितरणलाई सहज बनाइरहेको उनी बताउँछन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार, भूकम्पमा ४९ वटा प्रहरी युनिटमा क्षति पुगेको छ । उनी भन्छन्, ‘१७ वटा अरु सरकारी कार्यालय पनि क्षतिग्रस्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्