काठमाडौँ । आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ श्रद्धा, उत्साह र उल्लासका साथ मनाउँदैछन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको धार्मिक विश्वास रहिआएको छ।
बिज्ञापन
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको नेपाल राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष उद्धव प्रसाद चिमरियाले जानकारी दिए। उनका अनुसार येशु ख्रीष्टले मानव जीवनलाई पापबाट मुक्त गर्ने, एक–अर्काबीच प्रेम र करुणा फैलाउने तथा संसारमा स्थायी शान्ति स्थापना गर्ने मार्ग देखाएकाले क्रिश्चियन समुदायले क्रिसमसलाई यी तीनवटै खुसियालीको प्रतीकका रूपमा मनाउँदै आएको छ।




अध्यक्ष चिमरियाले क्रिसमस केवल धार्मिक पर्व मात्र नभई मानवता, सहिष्णुता र सामाजिक सद्भावको सन्देश बोकेको दिवस भएको उल्लेख गरे। “येशु ख्रीष्टको शिक्षाले जात, धर्म, वर्ग र सीमाभन्दा माथि उठेर सबै मानिसलाई समान दृष्टिले हेर्न प्रेरणा दिन्छ,” उनले भने।
बिज्ञापन
क्रिसमसका अवसरमा नेपालभरका चर्चहरूमा विशेष प्रार्थना सभा, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामुदायिक कार्यक्रमहरू आयोजना गरिएको छ। चर्च र घरहरू रंगीन बत्ती, क्रिसमस ट्री र सजावटले झकिझकाउ बनाइएका छन्। साथै आपसी भेटघाट, शुभकामना आदान–प्रदान र सामाजिक सेवा कार्यक्रममार्फत पर्व मनाइँदैछ।
बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालमा क्रिसमसजस्ता पर्वहरूले धार्मिक सहिष्णुता र आपसी सम्मानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। क्रिश्चियन समुदायले येशु ख्रीष्टको आदर्शलाई व्यवहारमा उतार्दै समाजमा प्रेम, शान्ति र सद्भाव फैलाउने संकल्पसहित आजको दिन मनाइरहेका छन्।




प्रतिक्रिया दिनुहोस्