काठमाडौं ।
काठमाडौं क्षेत्र नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रम, निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।


कीर्तिपुरस्थित नगगाउँ ए–वान पार्टी प्यालेसमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप बिष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरू एकजुट भएर सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनताको विश्वास जित्दै नीति निर्माण, विकास र परिवर्तनको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बिष्टले जनताको अधिकार, सुशासन, सामाजिक न्याय तथा समावेशी विकासका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा स्पष्ट पार्नुभएको थियो। साथै, उम्मेदवारको औपचारिक परिचयसँगै पार्टीका प्रमुख एजेण्डा र भावी कार्ययोजनाबारे जानकारी गराइएको थियो।

आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले कार्यक्रममा ५ सय ३५ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको थियो।
सो अवसरमा विभिन्न राजनीतिक दल परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टी प्रवेश गर्नेहरूलाई उम्मेदवार बिष्टले पार्टीको ब्याज लगाइ स्वागत गर्नुभएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय विभागका प्रतिनिधि, क्षेत्रीय सभापति, उपसभापति, वडा सभापति, स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने रास्वपाका नेताहरूले निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै प्रभावकारी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेका थिए।

काठमाडौं–१० मा रास्वपाको पार्टी प्रवेश तथा निर्वाचन परिचालन समिति घोषणा



प्रतिक्रिया दिनुहोस्