नेपालमै एसेम्बल गरिएको १४ सिटे विद्युतीय बस आइतबारदेखि सडक परीक्षणमा

२०८२ माघ २४, शनिबार २०:०८

काठमाडौं । नेपालमै एसेम्बल गरिएको १४ सिटे विद्युतीय चारपाँग्रे सवारी (बस) आइतबार माघ २५ गतेदेखि सडकमा परीक्षणका लागि गुड्ने भएको छ। सुन्दर अटो इन्जिनियर प्रालिले निर्माण गरेको उक्त सवारीको काठमाडौंमा पहिलोपटक सडक परीक्षण हुन लागेको हो।




कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै एसेम्बल गरिएको यो चारपाँग्रे विद्युतीय सवारी देशकै लागि नयाँ प्रयास हो। आइतबारदेखि सडक परीक्षण सुरु गरी त्यसपछि यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए।

बिज्ञापन

उनले गाडी निर्माणमा प्रयोग भएका करिब ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा स्वदेशमै उत्पादन गरिएको जानकारी दिए। बाँकी आवश्यक सामग्री भारत र चीनबाट आयात गरी नेपालमै जडान गरिएको हो। “नेपालमै पहिलोपटक चारपाँग्रे विद्युतीय सवारी एसेम्बल गरेका छौं। यसको अधिकांश संरचना, वायरिङ र बडी डिजाइन नेपालमै तयार गरिएको हो,” थापाले बताए।

बिज्ञापन

उनका अनुसार गाडीको आधारभूत डिजाइन भारतमा तयार भए पनि निर्माणका अधिकांश काम नेपालमै सम्पन्न गरिएको हो। प्रयोग गरिएका सबै सामग्री नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त रहेका छन्।

यस विद्युतीय बसमार्फत परम्परागत बिक्रम ट्याम्पु विस्थापन गर्ने लक्ष्य लिइएको कम्पनीको भनाइ छ। पहिलो चरणमा काठमाडौं, चितवन र बुटवलमा सञ्चालन गर्ने योजना रहेको छ भने बजारको मागअनुसार अन्य शहरमा पनि विस्तार गरिने बताइएको छ।

बिज्ञापन

१४ सिटे क्षमताको यो ईभी सिसैसिसाले पूर्ण रूपमा घेरिएको छ। हेर्दा एयरपोर्ट, गल्फ कोर्स, ठूला उद्योग वा बन्द परिसरमा प्रयोग हुने सवारी जस्तै देखिने यो बसले १४ जना यात्रु बोकेर १७ डिग्रीसम्मको उकालो सहजै चढ्न सक्ने क्षमता राख्दछ।

सरकारबाट आवश्यक मान्यता र सहजीकरण प्राप्त भए आगामी वर्षदेखि ठूलो संख्यामा उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए। सवारीको मूल्य भने सरकारी परीक्षण सम्पन्न भएपछि मात्रै तय गरिने उनले जानकारी दिए।

२०८२ माघ २४, शनिबार २०:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना