मध्यरातमा नेपालगञ्ज अवतरण : श्री एयरलाइन्सको उडानबाट ४० यात्रु अलपत्र

२०८२ फाल्गुन १, शुक्रबार ०८:१३

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि बिहीबार साँझ ६ः३० बजे उड्ने तालिका रहेको श्री एयरलाइन्सको २२९ नम्बर उडान ढिलाइ हुँदै मध्यरातमा नेपालगञ्जमा अवतरण गर्दा करिब ४० जना यात्रु अलपत्र परेका छन्।


उडान समय पटक–पटक सारिएपछि राति ११ः२० बजे मात्र जहाज धनगढीतर्फ उडेको थियो। तर धनगढीमा भिजिविलिटी कमजोर रहेको कारण देखाउँदै विमानलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले जनाएको छ।

बिज्ञापन

विमानमा सवार कैलाली गोदावरीकी महिमा चौधरीका अनुसार उडेको करिब एक घण्टा ४५ मिनेटपछि जहाज नेपालगञ्जमा अवतरण गरिएको हो। धनगढीमा अवतरण गर्ने प्रयास भए पनि सम्भव नभएपछि नेपालगञ्ज झारिएको उनले बताइन्। “समयमै घर पुग्ने आशा थियो, अब मध्यरातमा नेपालगञ्जबाट कैलाली कसरी जाने भन्ने चिन्ता थपिएको छ,” उनले भनिन्।

बिज्ञापन

धनगढी क्याम्पस रोडकी दिक्षा जोशीले पनि उडान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरिन्। “न समयमै उडान भयो, न गन्तव्यमा पुर्‍याइयो। परिवार चिन्तित छ। मध्यरात भइसक्दा पनि पानीसम्म सोधिएको छैन,” उनले गुनासो गरिन्।

एयरलाइन्स कम्पनीले भने नेपालगञ्जबाट धनगढीसम्म यात्रु पुर्‍याउन बसको व्यवस्था गरिने जनाएको छ। यात्रुहरूले भने आकस्मिक परिस्थितिमा सेवा र समन्वय कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन्।

बिज्ञापन
२०८२ फाल्गुन १, शुक्रबार ०८:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना