काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीका अनुसार जेठ २३ र २४ गते गरी ६६ जिल्लामा अधिवेशन सम्पन्न हुनेछन् भने विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ।
बिज्ञापन
आज जेठ २३ गते कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेश प्रदेशका महोत्तरी र रौतहट, बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुला गरी ३७ जिल्लामा अधिवेशन भइरहेको छ।
बिज्ञापन
त्यसैगरी, भोलि जेठ २४ गते कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका चितवन र ललितपुर, गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा गरी २९ जिल्लामा अधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते आयोजना गरिनेछ। यस तालिकाअनुसार रास्वपाले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
बिज्ञापन
रास्वपाले बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि क्रमशः आयोजना गर्ने जनाएको छ। साथै, जेठ २६ गतेदेखि सातवटै प्रदेशको अधिवेशन सुरु हुने र पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशमा आयोजना गरिने तयारी भइरहेको पार्टीले जनाएको छ।
महाधिवेशनको पूर्वतयारीका रूपमा सञ्चालन भइरहेको जिल्ला अधिवेशनलाई रास्वपाले संगठन विस्तार, नेतृत्व चयन र पार्टी संरचना सुदृढीकरणको महत्वपूर्ण अभियानका रूपमा लिएको छ।




प्रतिक्रिया दिनुहोस्