काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको विषय यतिबेला सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचनाको विषय बनेको छ।
बिज्ञापन
सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकोप्टरमार्फत सिराहा पुगेका थिए। उक्त वनभोज धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरिएको थियो।




मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकोप्टर चढेर हेटौंडाबाट सिराहा पुगेको बताइएको छ। सरकारी पदमा रहेको व्यक्तिले व्यक्तिगत तथा पार्टीगत कार्यक्रममा सहभागी हुन हेलिकोप्टर प्रयोग गरेको भन्दै नागरिक स्तरबाट प्रश्न उठाइएको छ। आर्थिक मितव्ययिता र सुशासनको प्रतिबद्धता विपरीत यस्तो कार्य भएको आरोप आलोचकहरूले लगाएका छन्।
बिज्ञापन
यसबारे स्पष्टिकरण दिँदै मुख्यमन्त्री बानियाँले आफू आज जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर प्रयोग गरिएको बताएका छन्। त्यही क्रममा सिराहाबाट कांग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएपछि सोही हेलिकोप्टरमार्फत सिराहातर्फ गएको उनको भनाइ छ।
यद्यपि, मुख्यमन्त्रीको उक्त स्पष्टीकरणपछि पनि आलोचना रोकिएको छैन। सामाजिक सञ्जालमा धेरैले सार्वजनिक पदमा बसेका व्यक्तिहरूले व्यक्तिगत कार्यक्रमका लागि सरकारी सुविधा वा महँगो यातायात प्रयोग गर्नु अनुचित भएको टिप्पणी गरेका छन्।
बिज्ञापन
घटनाले प्रदेश सरकारको खर्च, प्राथमिकता र जवाफदेहितामाथि पुनः बहस सुरु गराएको छ।



प्रतिक्रिया दिनुहोस्