रवि लामिछाने आज रिहा हुँदै, रूपन्देहीदेखि चितवन र काठमाडौँसम्म स्वागत तथा भेटघाट कार्यक्रम तय

२०८२ पुष ४, शुक्रबार ०८:२१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उनको रिहाइलाई अर्थपूर्ण र व्यवस्थित बनाउन पार्टीले विभिन्न चरणका कार्यक्रम तय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता झाका अनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको उडानमार्फत नख्खु कारागार प्रशासनले लामिछानेलाई रूपन्देही लैजानेछ । रूपन्देही जिल्ला अदालतमा उपस्थित भएपछि तारिख बुझ्ने लगायत आवश्यक अदालती प्रक्रिया पूरा गरिनेछ । सो प्रक्रिया सकेपछि अदालतले रिहाइ सम्बन्धी कागजात प्रदान गर्दै उनलाई परिवारको जिम्मा लगाउनेछ ।




लामिछानेलाई स्वागत गर्न रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित पार्टीका अन्य पदाधिकारीहरू पनि रूपन्देही पुग्ने कार्यक्रम छ । सबै प्रक्रिया मध्याह्न करिब १२ बजेसम्म सम्पन्न हुने प्रवक्ता झाले बताएका छन् । त्यसपछि रविले रूपन्देहीमा उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् ।

बिज्ञापन

रूपन्देही र भैरहवाको कार्यक्रम सकेपछि लामिछाने दिउँसो करिब १ बजे स्थलमार्ग हुँदै नवलपरासी र चितवनतर्फ प्रस्थान गर्नेछन् । यस क्रममा उनले बाटोका चार फरक स्थानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा स्वागत तथा भेटघाटको तयारी पूरा भइसकेको रास्वपाले जनाएको छ ।

बिज्ञापन

लामिछाने शुक्रबार साँझ चितवन आइपुग्नेछन् र त्यहाँ पनि पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् । शनिबार बिहान ११ बजे चितवन जिल्ला पार्टी कार्यालयको आयोजनामा भरतपुरमा खुला सभा हुनेछ । चौबिसकोठी वा जिल्ला प्रशासन कार्यालयअगाडिको चौरमा आयोजना हुने सो सभालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा सम्पन्न भएपछि लामिछाने शनिबार नै हवाई मार्ग हुँदै काठमाडौँ फर्कनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बाहिर रास्वपाले स्वागत कार्यक्रम राखेको छ । त्यहाँबाट उनी सिधै पार्टी कार्यालय वनस्थली पुग्नेछन्, जहाँ उनले जेनजी आन्दोलनका शहीदका परिवार, घाइते तथा उनीहरूको परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

बिज्ञापन
२०८२ पुष ४, शुक्रबार ०८:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना