पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्वत जिल्लाका सातवटा नगरपालिका र ६१ वटा वडामध्ये पहिलो पटक वडा अधिवेशन सम्पन्न गरेको छ। कुश्मा नगरपालिका वडा नम्बर १४ स्थित आर्थर डाँडाखर्कमा सम्पन्न उक्त अधिवेशन रास्वपाको संगठन विस्तार अभियानअन्तर्गत आयोजना गरिएको हो।




पार्टी संगठन निर्माणलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा रास्वपाका केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका सदस्य गङ्गालाल रिमालको विशेष उपस्थिति रहेको थियो। साथै जिल्लाको नेतृत्व, नगर तथा विभिन्न वडाका सभापति, सुवेक्षक तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय विभाग सदस्य रिमालले संगठन निर्माणलाई प्राथमिकतामा राख्दै देशभर सक्रिय रूपमा खटिएको बताउनुभयो। उहाँले रास्वपाले भ्रष्टाचारमुक्त, पारदर्शी र सबल राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आधारभूत तहदेखि संगठन विस्तार गरिरहेको उल्लेख गर्नुभयो। संगठन बलियो बने मात्र मुलुकमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो।
पर्वत जिल्लामा सम्पन्न पहिलो वडा अधिवेशनले पार्टीको स्थानीय संरचना मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा जिल्लाका अन्य वडाहरूमा समेत अधिवेशन तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने पार्टीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पर्वतमा वडा अधिवेशन यात्रा सुरु



प्रतिक्रिया दिनुहोस्