रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको निर्वाचन क्षेत्र रूपन्देही–२ मा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिसँगै उल्लेखनीय जनसहभागिता देखिएको छ। चुनावी कार्यक्रमका क्रममा लामिछाने पुग्दा क्षेत्रभर उत्साहपूर्ण वातावरण बनेको थियो भने ठूलो संख्यामा मतदाता सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै सभापति लामिछानेले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको विकल्पका रूपमा रास्वपालाई अघि सारे। उनले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राख्दै रूपन्देही–२ बाट सुलभ खरेललाई विजयी गराउन मतदातासँग आग्रह गरे।

रूपन्देही–२ मा यसपटकको निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ। यस क्षेत्रमा नेकपा एमालेका पूर्वअर्थमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णुप्रसाद पौडेल पनि चुनावी प्रतिस्पर्धामा छन्। अनुभवी नेता पौडेल र नयाँ राजनीतिक शक्तिका उम्मेदवार खरेलबीचको प्रतिस्पर्धालाई मतदाताले चासोका साथ हेरिरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रूपन्देही–२ को निर्वाचन परिणामले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ। लगातारको चुनावी गतिविधि र बढ्दो जनसहभागिताले यस क्षेत्रलाई चुनावी केन्द्रबिन्दुका रूपमा स्थापित गरेको छ।
रूपन्देही–२ मा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा उर्लियो जनसागर, खरेल–पौडेलबीच कडा प्रतिस्पर्धा



प्रतिक्रिया दिनुहोस्