काठमाडौं । होली पर्व र आसन्न निर्वाचनका कारण यसपटक करिब ८ लाख ८४ हजार ९५ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। ठूलो संख्यामा यात्रु बाहिरिएपछि उपत्यकाका सडकहरू यतिबेला प्रायः सुनसान देखिएका छन्।
बिज्ञापन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार चुनावका कारण धेरै यात्रु बाहिरिँदा सवारी साधनको चाप उल्लेखनीय रूपमा घटेको छ। उनका अनुसार पछिल्ला केही दिनयता उपत्यकामा ट्राफिक व्यवस्थापनमा खास समस्या देखिएको छैन।
बिज्ञापन
निर्वाचन सुरक्षामा अधिकांश ट्राफिक प्रहरी खटिएकाले सीमित जनशक्तिका बीच ट्राफिक व्यवस्थापनको काम भइरहेको उनले बताए।
उपत्यकाबाट बाहिरिने सवारी साधनलाई नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती तथा ललितपुरका फर्पिङ र चापागाउँ क्षेत्रमा ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ। यात्रुहरूलाई सुरक्षित यात्रा सम्बन्धी आवश्यक सचेतना दिई मात्र बाहिर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
बिज्ञापन
विशेषगरी मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरूलाई तीव्र गतिका कारण हुन सक्ने दुर्घटनाप्रति सचेत गराइएको डीएसपी शाहले बताए। साथै मदिरा सेवन गरेर सवारी साधन नचलाउन र उच्च गतिमा नहिँडाउन पनि आग्रह गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार बुधबारबाट उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या क्रमशः घटेको छ। निर्वाचनका कारण बुधबार मध्यरातदेखि मध्यम दूरीका सवारी साधन उपत्यकाबाट बाहिरिन पनि रोकिएको जानकारी दिइएको छ।



प्रतिक्रिया दिनुहोस्