काठमाडौं। चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को माता तीर्थ क्षेत्रमा पछिल्लो समय गरिएको डिप बोरिङका कारण परम्परागत पानीका स्रोतहरू सुक्दै गएको भन्दै स्थानीयवासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिज्ञापन
स्थानीयका अनुसार, वर्षौँदेखि प्रयोग हुँदै आएका धारा, पधेरा, इनार तथा कुवानालाहरू क्रमशः सुक्न थालेका छन्। “पहिले सहज रूपमा उपलब्ध हुने पानी अहिले दुर्लभ जस्तै भएको छ। अब हामीले दैनिक उपभोगका लागि पानी किनेर प्रयोग गर्नुपर्ने अवस्था आएको छ,” एक स्थानीयले गुनासो गरे।
बिज्ञापन
स्थानीयवासीहरूका भनाइमा, अनियन्त्रित रूपमा गरिएका डिप बोरिङले भूमिगत पानीको सतह घटाउँदै लगेको छ, जसका कारण सतह नजिक रहेका परम्परागत स्रोतहरूमा पानीको आपूर्ति घटेको हो। यसले दीर्घकालीन रूपमा जलस्रोत व्यवस्थापनमा गम्भीर असर पार्ने उनीहरूको चिन्ता छ।
यस्तै समस्याले दैनिक जीवनमा मात्र होइन, स्थानीय संस्कृति र परम्परासँग जोडिएका पानीका स्रोतहरूको अस्तित्वसमेत संकटमा परेको छ।
![]()
स्थानीयहरूले सम्बन्धित निकायलाई यस विषयमा तत्काल ध्यान दिन, डिप बोरिङको नियमन गर्न तथा वैकल्पिक दिगो पानी व्यवस्थापनको उपाय अवलम्बन गर्न माग गरेका छन्। तर, हालसम्म सम्बन्धित निकायहरूबाट ठोस पहल नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञहरूका अनुसार, अनियन्त्रित रूपमा गरिएको भूमिगत पानीको दोहनले पानीको पुनर्भरण दरभन्दा बढी निकासी गराउँछ, जसले गर्दा प्राकृतिक स्रोतहरू सुक्ने जोखिम बढ्छ। यस समस्याको समाधानका लागि दीर्घकालीन योजना, वैज्ञानिक अध्ययन तथा कडाइका साथ नियमन आवश्यक रहेको उनीहरूको सुझाव छ।




प्रतिक्रिया दिनुहोस्