काठमाडौं । बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि समाज कल्याण परिषदअन्तर्गत भृकुटीमण्डपस्थित सटर, हल तथा भवन भाडामा लिएकाहरूबाट बक्यौता रकम असुली गर्ने प्रक्रिया तीव्र बनाइएको छ। यसक्रममा विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि बाँकी रहेको रकम बुझाउन थालेका छन्।
बिज्ञापन
परिषद्का अनुसार रिपोर्टर्स क्लबका लागि भवन भाडामा लिएका पत्रकार ऋषि धमलाले बक्यौता रकममध्ये २० लाख रुपैयाँ बुझाएका छन्। उनले कुल ७३ लाख ४० हजार ९०१ रुपैयाँ तिर्न बाँकी रहेकोमा आंशिक रूपमा उक्त रकम भुक्तानी गरेका हुन्।
बिज्ञापन
यस्तै, कृष्णप्रसाद लामिछानेले ७ लाख १८ हजार रुपैयाँ, मनकला श्रेष्ठले ३ लाख ३६ हजार रुपैयाँ, चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार रुपैयाँ तथा नारायण निरौलाले २ लाख ७३ हजार रुपैयाँ बुझाएको समाज कल्याण परिषदको भृकुटीमण्डप कार्यालयले जनाएको छ।


कार्यालय प्रमुख खगराज रेग्मीका अनुसार सटर, हल र भवन भाडामा लिएर बक्यौता नतिर्नेहरूबाट धमाधम रकम असुल गर्ने काम भइरहेको छ। उनका अनुसार अझै करिब ७ करोड रुपैयाँ उठाउन बाँकी छ।
सरकारले परिषदका सदस्यसचिवसहित सबै पदाधिकारीलाई पदमुक्त गरेपछि परिषद हाल नेतृत्वविहीन अवस्थामा रहेको छ। नयाँ पदाधिकारी नियुक्त भएपछि बक्यौता असुली प्रक्रिया अझ प्रभावकारी र तीव्र हुने अपेक्षा गरिएको छ।
बिज्ञापन
रेग्मीले कानुनअनुसार सबै बक्यौता असुल गरिने स्पष्ट गर्दै अहिले केही अन्योलको अवस्था रहे पनि प्रक्रिया निरन्तर अघि बढिरहेको बताए।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपाल फोटो पत्रकार संघ, काठमाडौं सार्वजनिक पुस्तकालय तथा अपाङ्ग महासंघलगायत संस्थाहरूले पनि ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्