काठमाडौँ : राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगेर उनले डीपफेक भिडियो बनाउनेलाई कारबाही माग गर्दै जाहेरी दिए ।
बिज्ञापन
केही दिन यता सामाजिक सञ्जालमा डा वाग्लेको भनाई भन्दै गलत सामाग्री प्रचार गरिदै आएका थिए । सार्वजनिक भएको एक डीपफेक भिडियोमा रवि लामिछाने छुटाउन भारतसँग जे पनि गर्न तयार लेखेर एक अडियो सामाग्री प्रचार गरिएका थिए । २०८४ मा आफूहरू सबै भन्दा ठूलो शक्ति हुने र यो सबै मिलाउने भन्दै फोनमा भारतीय अधिकारीहरूसँग बोलेको जस्तो एक सामाग्री प्रचार गरिएका थिए ।
बिज्ञापन
प्रतिनिधिसभा सदस्य समेत रहेका वाग्लेले सामाजिक सञ्जालमा सर्वत्र छरिएको एक लिंक पनि साइबर ब्युरोलाई बुझाएका छन् । तर जाहेरीमा कसैकाे पनि नाम खुलाएका छैनन् । सिधाकुरालाई प्राप्त केही भिडियाे र लिंक अनुसार रास्वपा र रवि लामिछानेका नाममा खोलिएका छद्म फेसबुक पेजमा डा. वाग्ले विरुद्धको गलत सामाग्री प्रसार गरिएको छ। उक्त लिंक सेयर गर्ने र फैलाउने कार्यको नेतृत्व एमालेको भातृ युवा संंघठन युवा संघका नेता अमित मगर रहेको छन् ।
मगरले दुइदिन अघि पाेष्ट गरेकाे उक्त्त भिडियाे फेसबुकमा १६ लाखले हेरेका छन् । यस्तै साे भडियाे ५६ सय फेसबुक एकाउन्टबाट शेयर गरिएकाे छ भने दुई हजार मानिसले कमेन्ट गरेका छन् । भिडयाेबारे प्रहरीमा जाहेरी परेपछि मगरले साे भिडियाेकाे ह्यासट्यागमा कपि भनेर लेखेकाे पनि देखिन्छ ।
बिज्ञापन
मगरले आफुु नेकपा एमाले नुवाकोट जिल्ला समिति सदस्य एवम् युवा संघ विशेष प्रदेश कमिटी उपाध्यक्ष रहेको आफ्नो फेसबुकको परिचयमा लेखेका छन् । उनले आफ्नो फेसबुकमा यो कन्टेन्ट राखेको र दर्जनौँ ग्रुपहरुमा शेयर गरेको देखिन्छ । यस्तै, नरेश बोहोरा नामका व्यक्तिले पनि वाग्ले विरुद्धको सामाग्री फैलाएका छन् । उनले आफ्नो परिचय खुलाएका छैनन् ।
अर्का, पदम जोशी नाम गरेका युवकले पनि यि सामाग्रीहरू धेरै ठाउँमा उक्त भिडियो फैलाएको भेटिएको छ। डा.वाग्लेले दिएको जाहेरीमा विगत दुई दिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक सञ्जालमा झूटा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बद्ध, एवम् दृश्यहरू सामेल गरि सामाजिक सञ्जालमा चरित्र, प्रतिष्ठा, र राजनीतिक जीवनमा आघात पुर्याउने हेतुले घृणा र द्वेष फैलाउने नियतले सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको उल्लेख छ।
उनले झूटा र बनावटी, विषयवस्तु समावेश गरि विद्युतीय मध्यमबाट आफ्नो विरुद्धमा गम्भीर झुटा अफवाह फैलाई गरि कानूनी कार्य गर्ने गर्ने व्यक्ति पत्ता लगाई कसले, कहाँबाट कतिजनाको मिलेमतोमा गरे भएको हो सो को तत्काल अनुसन्धान गरि ति व्यक्तिहरुलाइ पक्राउ गरि कारवाही गर्न आग्रह गरेका छन् ।
साइबर ब्युरोमा उजुरी पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले नुवाकोट, चितवन र तनहुँ लगायतका जिल्लाका एमाले र कांग्रेसका नेता कार्यकर्ताद्वारा आफूमाथि हिलो छयाप्ने काम भइरहेको बताए ।
‘नेपालमा भएका देखि प्रवासमा रहेका नुवाकोट, चितवन र तनहुँका एमाले र कांग्रेसका जिल्ला नेताहरू समेत यो कार्यमा लागेको देखियो,’ वाग्लेले भने,‘ हिलो छ्याप्दी हालम १०/१५ प्रतिशतले पत्याए भने पनि त भइहाल्यो ।’
साइबर ब्युरो भोटाहिटीले सांसद स्वर्णिम वाग्ले आफ्नो विरुद्ध गलत प्रचार भएको भन्दै उजुरी लिएर आएको बतायो ।
‘मेरो हुँदै नभएको अडियो बनाएर गलत सामाग्री अपलोड भएको भन्दै उहाँले उजुरी दिनु भएको छ,’ सूचना अधिकारी अवस्थीले भने, ‘अडियो भन्ने की भिडियो अझै भोइस ओभर गरेर बनाइएको एक सामाग्री एक अकाउण्टबाट अपलोड भएको रहेछ । हामी हेर्दैछौँ ’
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्न नहुने (कम्प्युटर, इन्टरनेट,लगायतका बिध्युतिया संचार माध्यममा कसै प्रति घृणा, द्वेष फैलाउने कार्य गर्नेलाई गैर कानूनी कार्य मानिएको र त्यस्तो कार्य गर्नेलाई ५ बर्ष सम्म कैद हुने) कानूनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिताले समेत यस्ता कार्यलाइ फौजदारी कसुर मानिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्