चुनावी तयारीमै शोक : रामेछापमा निर्वाचन टोली सवार गाडी दुर्घटना, एक प्रहरीको मृत्यु, सात घाइते

२०८२ फाल्गुन १८, सोमबार १९:२५

रामेछाप, फागुन १८ — निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार रामेछाप नगरपालिका–२ सिरुबारीस्थित सडकखण्डमा भएको दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।



मन्थलीबाट कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रतर्फ निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा कुल ११ जना सवार रहेकोमा तीन जना दुर्घटना हुनुअघि नै हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।

बिज्ञापन

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिमप्राप्त टोली घटनास्थलमा खटिएको थियो। उद्धारपश्चात घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिज्ञापन

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक रूपमा सडकको अवस्थासहित अन्य प्राविधिक पक्षको जाँच थालिएको छ।

निर्वाचनको तयारी चलिरहेका बेला भएको यो दुर्घटनाले स्थानीय तहमा शोकको वातावरण सिर्जना गरेको छ। निर्वाचन आयोगले भने निर्धारित तालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ।

बिज्ञापन
२०८२ फाल्गुन १८, सोमबार १९:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना