काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न कडा निर्णय तथा अनुरोध सार्वजनिक गरेको छ। आयोगले तोकिएको समयसीमा भित्र मात्रै प्रचार–प्रसार गर्न, मदिरा बिक्री–वितरणमा रोक लगाउन तथा सवारी साधन सञ्चालनमा नियन्त्रण गर्न स्पष्ट निर्देशन दिएको हो।



आयोगका अनुसार फागुन १८ गते राति १२ बजेदेखि चुनाव प्रचार–प्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। त्यसपछि कुनै पनि प्रकारको सभा, जुलुस, प्रचार सामग्री वितरण तथा सामाजिक सञ्जालमार्फत समेत मत माग्ने गतिविधि गर्न निषेध गरिएको छ।
बिज्ञापन
त्यसैगरी मतदानको ७ दिन अघिदेखि मतपरिणाम सार्वजनिक नभएसम्म रक्सी बिक्री तथा सेवनमा रोक लगाइएको छ। यस निर्णयले चुनावी वातावरण शान्त र अनुशासित बनाउन सहयोग पुग्ने आयोगको अपेक्षा छ।
बिज्ञापन
आयोगले फागुन २० गते राति १२ बजेदेखि २२ गते साँझसम्म अत्यावश्यक बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाउने जनाएको छ। निर्वाचनको दिन सवारी चलाउन आवश्यक परेमा सम्बन्धित निकायबाट पास लिनुपर्नेछ। यसका लागि छुट्टै एकाइसमेत स्थापना गरिएको आयोगले स्पष्ट पारेको छ।
त्यस्तै, मतदानको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गरिने निर्णय गरिएको छ, जसबाट बाह्य हस्तक्षेप तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
बिज्ञापन
आयोगले मतदाता नामावलीमा नाम भएका नागरिकले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा लालपुर्जामध्ये कुनै एक आधिकारिक कागजात देखाएर मतदान गर्न सक्ने जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन आयोगले राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा सर्वसाधारण सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्