धादिङ। धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा केही मिडिया हाउसहरूमा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले उक्त समाचार पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी यथावत् रहेको बताएकी छिन्।
बिज्ञापन
तामाङले आफ्नो फेसबुक सामाजिक सञ्जालबाट आफ्नो विरुद्ध अन्तिम समयमा ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने आशयका समाचार फैलाइएकोप्रति आपत्ति जनाएकी हुन्। “उक्त समाचारमा कुनै सत्यता छैन, मेरो उम्मेदवारी कायमै छ,” उनले लेखेकी छिन्।
बिज्ञापन
साथै, आफूलाई ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू निराधार रहेको उल्लेख गर्दै तामाङले आफू यही देशकी नागरिक भएको र संविधानले प्रदान गरेको मताधिकार तथा उम्मेदवार बन्ने अधिकार उपभोग गरिरहेको स्पष्ट पारेकी छिन्।
उनले अन्तिम घडीमा आफूलाई कमजोर बनाउन योजनाबद्ध रूपमा षड्यन्त्र रचिएको आरोप लगाउँदै यस विषयमा कानुनी उपचार खोजिसकेको जानकारी दिएकी छन्।
बिज्ञापन
मतदातालाई कुनै भ्रममा नपर्न आग्रह गर्दै तामाङले आफूलाई “तपाईंहरूकै छोरी–चेली र उम्मेदवार”का रूपमा प्रस्तुत गर्दै विवेकपूर्ण मतदान गर्न मतदाताहरूलाई आह्वान गरेकी छन्।
“सत्यको सधैं विजय होस्,” भन्ने सन्देशसहित उनले आफ्ना समर्थक तथा मतदातालाई धैर्य र विश्वास कायम राख्न अपिल गरेकी छन्।



प्रतिक्रिया दिनुहोस्