गोदावरी फूलको प्रदर्शनीमा ९९ लाख ९० हजार रुपैयाँको कारोबार, मेला कार्तिक १८ गतेसम्म चल्ने

२०८३ कार्तिक १८, मंगलवार ०६:५०

ललितपुर १८: फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चौथो दिनसम्म ९९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ। कार्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनीमा उक्त अवधिसम्म ३१ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

बिज्ञापन

प्रदर्शनीको सुरुवाती दिनमा अपेक्षाभन्दा राम्रो कारोबार भए पनि प्रतिकूल मौसमका कारण पछिल्ला दिनमा कारोबार प्रभावित भएको आयोजकले जनाएको छ। शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनीस्थलमा आवागमन प्रभावित हुँदा पुष्पप्रेमी, सर्वसाधारण उपभोक्ता तथा व्यवसायीलाई फूलको अवलोकन र खरिद–बिक्रीमा असुविधा भएको थियो।

बिज्ञापन

लगातारको वर्षाका कारण प्रदर्शनी सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएपछि दर्शक तथा व्यवसायीको अनुरोधलाई ध्यानमा राख्दै मेला अवधि दुई दिन थप गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। यससँगै अब प्रदर्शनी कार्तिक १८ गते बुधबारसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीको पाँचौँ दिन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि मेला अवलोकन गरेकी छन्। उनले प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल तथा बिरुवा खरिद गर्नुका साथै पुष्प व्यवसाय र प्रदर्शनीप्रति चासो व्यक्त गरेकी थिइन्।

बिज्ञापन

प्रदर्शनीमा गोदावरी फूलका विभिन्न प्रजातिसँगै अन्य मौसमी फूल, सजावटी बिरुवा तथा पुष्पजन्य सामग्री राखिएका छन्। फूलको विविधता, आकर्षक सजावट र पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीले प्रदर्शनीलाई विशेष बनाएको छ। यसले पुष्पप्रेमीलाई नयाँ प्रजातिका फूलबारे जानकारी लिन र व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बिक्री गर्ने अवसर प्रदान गरेको छ।

प्रदर्शनीको अवधि थपिएसँगै फूलप्रेमी तथा सर्वसाधारणले कार्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनीस्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न सक्ने आयोजकले जनाएको छ।

प्रतिकूल मौसमका कारण प्रभावित भएको कारोबारलाई थपिएको अवधिले गति दिने र प्रदर्शनीमा दर्शकको सहभागिता बढ्ने आयोजकको अपेक्षा छ।

२०८३ कार्तिक १८, मंगलवार ०६:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना