काठमाडौँ, ९ जेठ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व र गरिमा अलिकति पनि नघटेको बताउनुभएको छ। दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा “रेडियो सगरमाथा १०२.४ मेगाहर्ज” को ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो।
बिज्ञापन
कार्यक्रममा बोल्दै मन्त्री डा. तिमल्सिनाले सञ्चारमाध्यमहरू समयसापेक्ष रूपमा थप प्रविधिमैत्री बन्दै जनअपेक्षा र नागरिकको भावनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। “सचेत नागरिक, सशक्त समाज: मिथ्या सूचनाविरुद्ध सामुदायिक सञ्चारको अभियान” भन्ने मूल नाराका साथ मनाइएको यस स्थापना दिवसमा बोल्दै उहाँले जिम्मेवार, नैतिक र उत्तरदायी पत्रकारिता आजको मुख्य आवश्यकता रहेको औँल्याउनुभयो।
बिज्ञापन
आफू पनि विगतमा लामो समय सोही रेडियोमा आबद्ध रही सेवा गरेको स्मरण गर्दै मन्त्री डा. तिमल्सिनाले रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षता र स्वतन्त्र पत्रकारिताको बलियो मानक बनेको दाबी गर्नुभयो। सञ्चारमाध्यमहरूको दिगोपनका लागि सरकारले आवश्यक सहयोग र सकारात्मक हस्तक्षेप गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।


नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्वारा सञ्चालित रेडियो सगरमाथा वि.सं. २०५४ साल जेठ ९ गते सञ्चालनमा आएको थियो। स्थापना दिवसको उक्त विशेष समारोहमा सञ्चार क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




प्रतिक्रिया दिनुहोस्