नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको नुवाकोटको बन्चरेडाँडामा फेरि फोहोर ल्याउने काम रोकिएको छ । लगातारको फोहोरको थुप्रो र दुर्गन्धका कारण स्थानीयवासी आक्रोशित बनेका छन् ।
बिज्ञापन
स्थानीय बासिन्दाहरूले काठमाडौंका जनताका लागि सफा सहर बनाउने नाममा बन्चरेडाँडालाई फोहोरको थलो बनाइएकामा असन्तुष्टि जनाएका छन्। उनीहरू भन्छन्, “काठमाडौंका मान्छेहरूलाई त सफा ठाउँ चाहिन्छ, तर हामीले भने फोहोर सुँघ्दै खाना खानुपर्ने अवस्था छ।”
बिज्ञापन
फोहोरको कारण अहिले आसपासका बस्तीहरूमा दुर्गन्ध फैलिनुका साथै ठूलो संख्यामा गिद्ध र अरू जनावरहरू आउने गरेका छन्। स्थानीयहरूका अनुसार गिद्धहरू बढ्दा साना बालबालिकामाथि आक्रमण हुन सक्ने डर समेत बढेको छ।
स्थानीयवासीले काठमाडौं महानगरका प्रमुख बालेन शाहमाथि पनि असन्तुष्टि जनाएका छन्। उनीहरू भन्छन्, “बालेनले धेरै पटक आश्वासन दिएका थिए,फोहोर व्यवस्थापनको दीगो समाधान निकाल्छु भनेर। तर अहिले उहाँ फर्केर हेर्न समेत आएका छैनन्। त्यसैले अब हामीले भन्यौं, ‘बालेन हराएको सूचना जारी गर्नुपर्ला।’”
बिज्ञापन
फोहोर व्यवस्थापनको दीगो समाधानका लागि स्थानीय र काठमाडौं महानगरबीच बारम्बार वार्ता प्रयास भए पनि ठोस नतिजा नआएको स्थानीयहरूले बताएका छन्। उनीहरूले तत्काल फोहोर संकलन र व्यवस्थापनको स्थायी योजना ल्याउन माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस्