काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनको अन्तिम तयारी भइरहेका बेला संघीय सांसद प्रदीप बिष्ट नेतृत्वको टोलीले स्थलगत अनुगमन गर्दै सुरक्षादेखि स्थानीय प्रभावित क्षेत्रका समस्यासम्म गम्भीर ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
बिज्ञापन
अनुगमनका क्रममा सुरुङ मार्गले राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने यात्रालाई सहज बनाउने भए पनि सञ्चालनअघि सुरक्षा व्यवस्था, आपत्कालीन उद्धार क्षमता र स्थानीय बासिन्दाको समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको हो।
बिज्ञापन
टोलीले हाल नागढुङ्गा नाकामा राष्ट्रिय अनुसन्धान, लागूपदार्थ नियन्त्रण ब्युरो, पशुपन्छी क्वारेन्टाइन तथा माइती नेपाललगायत निकायले गर्दै आएको निगरानी सुरुङ सञ्चालनपछि कमजोर हुन सक्ने भन्दै सुरुङको दुवै प्रवेशद्वारमा अत्याधुनिक प्रविधिसहितको सुरक्षा चेकपोष्ट स्थापना गर्नुपर्ने सुझाव दिएको छ। यसले हतियार, लागूपदार्थ ओसारपसार तथा मानव बेचबिखनजस्ता आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
अनुगमनका क्रममा सुरुङभित्र सम्भावित दुर्घटना, आगलागी वा अन्य आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै उद्धार प्रणाली थप प्रभावकारी बनाउनुपर्ने विषय पनि उठाइएको छ। हाल २४सै घण्टा दमकल, एम्बुलेन्स, क्रेन तथा उद्धार टोली तयारी अवस्थामा राख्ने व्यवस्था सकारात्मक भए पनि सुरुङभित्रको जटिल उद्धार कार्यका लागि जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यावहारिक ‘मक ड्रिल’ तथा विशेष तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
बिज्ञापन
त्यसैगरी सुरुङ निर्माणका कारण प्रभावित स्थानीय बासिन्दाको खानेपानी समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिइएको छ। निर्माणका क्रममा केही क्षेत्रमा पानीका मुहान सुक्दा स्थानीयले समस्या भोगिरहेको भन्दै स्थानीय सरकार र सम्बन्धित निकायले प्रभावित क्षेत्रमा पर्याप्त तथा नियमित खानेपानीको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
सांसद बिष्टले नागढुङ्गा सुरुङ मार्गलाई केवल यातायात पूर्वाधारका रूपमा मात्र नभई राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील परियोजनाका रूपमा हेर्नुपर्ने बताएका छन्। उनले सुरुङ सञ्चालनअघि सुरक्षा प्रणाली सुदृढ बनाउने, उद्धार संयन्त्रलाई पूर्ण तयारी अवस्थामा राख्ने तथा स्थानीय समुदायका समस्या समाधान गरी मात्रै सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।




प्रतिक्रिया दिनुहोस्