उदयपुर सिमेन्ट उद्योग (गैंडा सिमेन्ट) मा कार्यरत रहँदा १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको अनियमितता र भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।


अख्तियारले पूर्व जीएम सुरेन्द्र पौडेल, सोही समयका निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसी विरुद्ध मुद्दा दर्ता गरेको हो।
स्रोतका अनुसार यो प्रकरण लामो समयदेखि अनुसन्धानको फाइलमै सीमित रहँदै आएको थियो। राजनीतिक संरक्षण र छत्रछायाका कारण मुद्दा अघि बढ्न नसकेको भनिँदै आएको यस विषयमा पछिल्लो समय सरकार परिवर्तनसँगै अख्तियारले कारबाही प्रक्रियालाई तीव्रता दिएको देखिन्छ।
अब प्रश्न उठेको छ—
उदयपुर सिमेन्ट उद्योगका यी भनिएका ‘ठूला माछा’ हरूमाथि साँच्चिकै प्रभावकारी कारबाही होला त ?
कि यो मुद्दा पनि विगतका धेरै ठूला भ्रष्टाचार काण्डझैं लामो कानुनी प्रक्रियामा अल्झिएर कमजोर प्रमाण र दबाबका बीच सेलाउने हो ?
यस प्रकरणले राज्य स्वामित्वका उद्योगमा व्याप्त संरचनागत भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र अख्तियारको संस्थागत दृढता कति बलियो छ भन्ने कुराको समेत परीक्षा लिने देखिन्छ। अबको दिनमा अदालतको फैसला मात्र होइन, अख्तियारको निरन्तरता र निष्पक्षतामाथि पनि आमनागरिकको नजर रहनेछ ।
उदयपुर सिमेन्टमा ४६ करोडसम्मको भ्रष्टाचार प्रकरण: पूर्व जीएमसहित ८ जनाविरुद्ध अख्तियारको मुद्दा



प्रतिक्रिया दिनुहोस्