लोकसंगीत, संघर्ष र बेल बहादुर परियारको निरन्तरता

२०८२ माघ २०, मंगलवार १९:५८

बर्दिबास,।
लोकगीत समयको साक्षी हो । यसले हाँसो मात्रै होइन, पीडा बोकेको हुन्छ । उत्सव मात्रै होइन, बिछोडको कथा पनि बोकेको हुन्छ । यही कथाको एउटा नयाँ अध्याय हो‘फूल खसिगो, माया बसिगो’ ।



लोक तथा दोहोरी संगीतको यात्रामा दशकौँदेखि अविचलित गायक बेल बहादुर परियारले सार्वजनिक गरेको यो गीत केवल एउटा म्युजिक भिडियो होइन ; यो लोकसंवेदनाको निरन्तरता हो ।
मंगलबार बर्दिबासमा आयोजित विमोचन समारोह त्यसैको साक्षी बन्यो, जहाँ गीतभन्दा धेरै कुरा बोले – संघर्ष, प्रतीक्षा र विश्वासले ।

बिज्ञापन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटलमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गरे । प्रोजेक्टरमा जब गीत बज्यो, हलभित्र मौनता छायो त्यो मौनता भावनाको थियो, शब्दभन्दा गहिरो ।

बिज्ञापन

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर छ । स्वरले प्रेमको उत्कर्ष मात्रै होइन, विछोडको भार पनि बोकेको छ । शब्द र सङ्गीत स्वयं परियारकै छन् जहाँ अनुभव बोल्छ, कल्पना होइन । राजिव शाहको एरेञ्ज, मिक्स र मास्टरिङले गीतलाई समकालीन बनाएको छ भने भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनयले लोककथालाई दृश्यमा रूपान्तरण गरेको छ । मिलन श्रेष्ठको निर्देशन, राजाराम सिंखडाको कोरियोग्राफी र सन्तोष तिमल्सिनाको छायाङ्कनले कथालाई जीवन्त बनाएका छन् ।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय प्रतिभा केवल प्रशंसाले होइन, सहकार्यले अगाडि बढ्ने बताए । यो भनाइ प्रशासनिक औपचारिकता मात्रै थिएन ; यसमा स्थानीय संस्कृतिप्रतिको जिम्मेवारी झल्किन्थ्यो ।

बिज्ञापन

पूर्व राज्य मन्त्री सारदा देवी थापाले भने परियारको यात्रालाई ‘हिम्मत नहार्ने लोकसाधना’ का रूपमा व्याख्या गरिन् । अपेक्षित प्रचार नपाउँदा पनि सिर्जनामा निरन्तर लागिरहनु नै कलाकारको वास्तविक परिचय भएको उनको भनाइ थियो ।

स्वयं बेल बहादुर परियारका लागि यो गीत एउटा विमोचन मात्रै होइन आफ्नै जीवनको पुनरावलोकन हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहेका उनले कलाकारले आज भोगिरहेको असुरक्षा, उपेक्षा र संघर्षबारे खुलेर बोले । तर उनका शब्दमा गुनासोभन्दा धेरै विश्वास थियो“दर्शक–श्रोताको माया नै कलाकारको असली पूँजी हो,” भन्ने विश्वास ।

२०५१ सालमा रेडियो नेपालबाट ‘जाग नेपाली वीर नेपाली’ गाएर यात्रा थालेका परियारका लागि समय सजिलो थिएन । तर सिन्धुलीका सुसेलीहरू, गरौं है रमाइलो, मिठो सम्झना, सुनको थैली चाँदीको झुम्कना हुँदै आजसम्म आइपुग्दा एउटा कुरा प्रस्ट छ लोकगीत उनको पेशा मात्रै होइन, जीवन हो ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी र संस्कृतिप्रेमीहरूको उपस्थिति थियो । मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ जोडिएको थियो । गीत ‘बेल बहादुर परियार अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

२०८२ माघ २०, मंगलवार १९:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना