एनसीएफ नेपालको नेतृत्व कानुनी कठघरामा : कोषाध्यक्ष नियुक्तिमाथि गम्भीर प्रश्न

२०८३ जेष्ठ ५, मंगलवार १५:२८

काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) नेपालको नयाँ कार्यसमिति चयनको समय नजिकिँदै जाँदा संस्थामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्। संस्थाको ६२औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित कोषाध्यक्ष पदमा नियुक्त गरिएका हिमाल जोशेफ राईको पृष्ठभूमिलाई लिएर विवाद चुलिएको हो।
चितवनको टाँडीमा २०७८ चैत २२ देखि २४ गतेसम्म सम्पन्न अधिवेशनले सूर्यबहादुर बल (हनोक)लाई अध्यक्ष, वीरबहादुर तामाङलाई उपाध्यक्ष, हिमाल जोशेफ राईलाई कोषाध्यक्ष लगायत अन्य पदाधिकारीमा चयन गरेको थियो। पूर्व अध्यक्ष रेभ. डा. मंगलमान महर्जनले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

बिज्ञापन

तर, अर्को अधिवेशन आउन केही दिन मात्र बाँकी रहँदा अघिल्लो नेतृत्वको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। २०७१ साल माघ १९ गते लागूऔषध कारोबारसम्बन्धी मुद्दामा उच्च अदालत विराटनगरबाट दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका व्यक्तिलाई आर्थिक जिम्मेवारीसहितको केन्द्रीय पदमा कसरी चयन गरियो भन्ने प्रश्न उठाइएको छ।
यस विषयमा हिमाल राई वा एनसीएफ नेपालको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। संस्थाको विधानअनुसार पनि प्रश्न उठाइएको छ। विधानको परिच्छेद ७ को दफा ७(ग) अनुसार फौजदारी अभियोगमा दोषी ठहर भएको व्यक्ति संस्थाको सदस्य हुन नसक्ने व्यवस्था रहेको बताइएको छ।
“संस्था आध्यात्मिक मूल्य, नैतिक नेतृत्व र विश्वासको आधारमा सञ्चालन हुनुपर्ने हो,” संस्थाका एक पूर्व पदाधिकारीले नाम नखुलाउने सर्तमा भने, “तर पछिल्ला वर्षहरूमा संगठनभित्र व्यक्तिकेन्द्रित र समूहगत प्रभाव बढ्दै गएको महसुस भइरहेको छ।”

बिज्ञापन

एनसीएफ नेपाल देशकै पुराना र ठूला अन्तर–मण्डलीय ख्रीष्टियन संस्थामध्ये एक मानिन्छ। यस्तो अवस्थामा संस्थाको नेतृत्वमाथि उठेका नैतिक, कानुनी र संस्थागत प्रश्नहरूले सम्पूर्ण ख्रीष्टियन समुदायभित्र समेत चासो बढाएको देखिन्छ।
मुख्य प्रश्न अहिले यो उठेको छ— देशको कानुनअनुसार दोषी ठहर भएको व्यक्तिलाई नेतृत्वमा ल्याइनुले के एनसीएफ नेपालले कानुनी तथा संस्थागत मूल्यलाई चुनौती दिएको हो?
अब हेर्न बाँकी छ, एनसीएफ नेपालले उठिरहेका आरोप र विवादबारे स्पष्ट छानबिन तथा सार्वजनिक जवाफदेहिता प्रस्तुत गर्छ कि यी प्रश्नहरू समयसँगै ओझेलमा पारिन्छन्।

बिज्ञापन
२०८३ जेष्ठ ५, मंगलवार १५:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना