११ जेठ, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न सूचना जारी गरेको छ।
बिज्ञापन
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१४ थसिखेल बस्दै आएकी ४८ वर्षीया ज्योती नेपाली कांग्रेसका नेता धनराज गुरुङ की पूर्वपत्नी हुन्। तर अदालतद्वारा प्रकाशित सूचनामा भने उनको विवरण खुलाउँदै ‘धनराज गुरुङकी पत्नी’ उल्लेख गरिएको छ।
बिज्ञापन
अदालतका अनुसार बोधविक्रम थापाले ज्योती गुरुङविरुद्ध लेनदेनसम्बन्धी मुद्दा दायर गरेका थिए। सोही मुद्दामा यसअघि जारी गरिएको म्याद बदर भएपछि २०८३ जेठ ५ गतेको आदेशअनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ उपदफा (२) बमोजिम २१ दिने सार्वजनिक सूचना जारी गरिएको हो।


आज गोरखापत्रमा प्रकाशित सूचनामा पत्रिका प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा कानुनबमोजिमका प्रतिनिधिमार्फत आवश्यक सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न अदालतले निर्देशन दिएको उल्लेख छ।




प्रतिक्रिया दिनुहोस्