नागढुंगा सुरुङ खुल्ने तयारी, कलंकी–गुर्जुधारामा जामको जोखिम बढ्दै: सभामुख आर्यालद्वारा उच्चस्तरीय स्थलगत अनुगमन

२०८३ असार २५, बिहीबार १०:४५

काठमाडौं। राजधानी प्रवेशको मुख्य नाका कलंकी–नागढुंगा सडकखण्डमा देखिएको दीर्घकालीन ट्राफिक समस्या समाधानका लागि प्रतिनिधिसभाका डोलप्रसाद आर्याल स्वयं सक्रिय हुनुभएको छ। स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेपछि सभामुख आर्याल नेपाल प्रहरीका उच्च अधिकारी, सम्बन्धित निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिसहित बुधबार उक्त सडकखण्डको स्थलगत अनुगमनमा निस्कनुभएको हो।

बिज्ञापन

लामो समयदेखि सडकको केन्द्रबाट दायाँ–बायाँ ११–११ मिटर विस्तार गर्ने योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न स्थानमा सडक साँघुरो बनेको छ। त्यसकै कारण दैनिक सवारी जाम, दुर्घटनाको जोखिम तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ।

बिज्ञापन

यसैबीच, नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकाले गुर्जुधारा–कलंकी सडकखण्डमा सवारी चाप अझ बढ्ने आकलन गरिएको छ। अहिले नै अत्यधिक व्यस्त रहेको यस सडकमा सुरुङमार्ग सञ्चालनपछि थप सवारी साधन प्रवेश हुँदा राजधानीको मुख्य प्रवेशद्वारमै गम्भीर ट्राफिक जाम उत्पन्न हुन सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।

स्थलगत निरीक्षणका क्रममा सभामुख आर्यालले राजधानी प्रवेश गर्ने मुख्य सडक सुरक्षित, व्यवस्थित र आकर्षक हुनुपर्नेमा जोड दिनुभएको बताइएको छ। उहाँले सडक विस्तारका बाँकी काम शीघ्र सम्पन्न गर्न, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा नागरिकलाई सहज आवागमनको वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको स्रोतले जनाएको छ।

बिज्ञापन

उता, स्थानीयवासीले सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई उचित मुआब्जा तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, वि.सं. २०३४ सालदेखि लागू रहेको २५–२५ मिटर सडक सीमा (राइट अफ वे) का कारण दशकौँदेखि उपयोग गर्न नपाइएका निजी जग्गाको समस्या स्पष्ट नीतिगत निर्णयमार्फत समाधान गर्नुपर्ने आवाजसमेत उठाएका छन्।

राजधानीको मुख्य प्रवेशद्वारका रूपमा रहेको कलंकी–नागढुंगा सडकखण्ड अब केवल सडक विस्तारको विषयमा सीमित नरही पूर्वाधार विकास, प्रभावकारी ट्राफिक व्यवस्थापन र नागरिकको सम्पत्ति अधिकारसँग जोडिएको राष्ट्रिय सरोकारको विषय बनेको छ। सभामुखको सक्रिय अनुगमनपछि सम्बन्धित निकायले अब कस्तो निर्णय लिन्छन् भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ।

२०८३ असार २५, बिहीबार १०:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना