मुग्लिन–नारायणगढ सडकमा पुनः पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक

२०८३ असार ३०, मंगलवार ०७:४७

चितवन ।
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जलवीरे नजिकै सोमबार बिहान पुनः पहिरो झरेपछि सडक सञ्चालन प्रभावित भएको हो।

बिज्ञापन

यसअघि आइतबार साँझदेखि सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा माथिबाट लेदो खसेका कारण सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका यात्रु तथा सवारीसाधनलाई राति अबेरसम्म पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।

बिज्ञापन

तर निरन्तर वर्षा भइरहेका कारण उक्त क्षेत्रमा थप पहिरो खस्ने उच्च जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सो निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।

हाल जलवीरे क्षेत्रमा खसेको पहिरो हटाउन सम्बन्धित निकायले डोजरसहित आवश्यक उपकरण परिचालन गरिसकेको छ। पहिरो पन्छाउने कार्य जारी रहे पनि वर्षा निरन्तर भइरहेकाले सडक तत्काल सञ्चालनमा आउनेबारे निश्चित समय भने तय हुन सकेको छैन।

बिज्ञापन

प्रशासनले सडकको अवस्थाबारे सम्बन्धित निकायको आधिकारिक सूचना पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सबैलाई अनुरोध गरेको छ।

२०८३ असार ३०, मंगलवार ०७:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना