चाँगुनारायणमा रास्वपाको ‘प्रत्यक्ष संवाद अभियान’ सुरु, वडा–वडामा पुगेर स्थानीय समस्या र सुझाव संकलन गरिने

२०८३ श्रावण १, शुक्रबार १५:१०

भक्तपुर | समष्टि नेपाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले सांगठनिक सुदृढीकरणसँगै स्थानीय नागरिकका समस्या, सुझाव र विकासका आवश्यकताको पहिचान गर्न वडा तहमा ‘प्रत्यक्ष संवाद अभियान’ सुरु गर्ने भएको छ।

बिज्ञापन

अभियानको पहिलो कार्यक्रम साउन २ गते शनिबार चाँगुनारायण नगरपालिका वडा नं. ५ बाट सुरु हुने नगर समितिले जनाएको छ। वडा समितिका अनुसार साधारण सदस्य, स्थानीय अगुवा, कार्यकर्ता तथा पार्टीप्रति सद्भाव राख्ने शुभचिन्तकहरूसँग प्रत्यक्ष छलफल गरी स्थानीय आवश्यकता र जनअपेक्षा संकलन गरिनेछ।

बिज्ञापन

कार्यक्रममा जिल्ला सभापति रामेश्वर बस्नेत, सांसद रुकेश रञ्जित, नगर सभापति रोशन थापा लगायतको उपस्थिति रहनेछ। छलफलमा वडास्तरका समस्या, विकास निर्माणका प्राथमिकता तथा पार्टीको आगामी कार्यदिशाबारे विस्तृत विमर्श हुने जनाइएको छ।

नगर सभापति रोशन थापाले यो अभियानलाई क्रमशः चाँगुनारायणका सबै वडामा विस्तार गरिने जानकारी दिएका छन्। आयोजकले वडा नं. ५ का सम्पूर्ण सरोकारवाला र शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई आफ्ना सुझाव राख्न आग्रह गरेको छ।

बिज्ञापन

रास्वपाले मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको नीतिअनुसार यसअघि नै सहरी विकास, पूर्वाधार, अर्थशास्त्र, सार्वजनिक नीति, शिक्षा, स्वास्थ्य, पर्यटन, सम्पदा तथा संस्कृतिका विज्ञहरू सम्मिलित विज्ञ समूह गठन गरिसकेको छ।

नगर समितिका अनुसार वडा तहबाट संकलन गरिने स्थानीय सुझाव, गुनासा र आवश्यकतालाई उक्त विज्ञ समूहको प्राविधिक क्षमतासँग समन्वय गरी चाँगुनारायणको दीर्घकालीन, वैज्ञानिक र वस्तुनिष्ठ विकास गुरुयोजना तयार गर्ने लक्ष्य लिइएको छ।

२०८३ श्रावण १, शुक्रबार १५:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना